
मलङ्ग्वा प्रथम नगर सभा: ४५ करोड ५१ लाखको बजेट पारित
सर्लाही । सर्लाहीको सदरमुकाम समेत रहेको सर्लाहीको सबै भन्दा पुरानो नगरपालिका मलङ्ग्वा नगरपालिकाको प्रथम नगरसभा शुक्रवार भव्यताका साथ सम्पन्न भएको छ । मलङ्ग्वा नगरपालिकाको प्रथम नगरसभाले आर्थिक बर्ष २०७४/०७५ को वार्षिक निति, कार्यक्रम र वजेटको सार्वजनिक गरेको छ । नगरसभाबाट नगर विकासका लागि चालू आर्थिक वर्ष २०७४/०७५ का लागि कुल ४५ करोड ५१ लाख ३ हजार ३ सय ३५ रुपैयाँको बजेट पारित गरेको छ । नगरपालिकाका नगर प्रमुख निरसल साहले नगरपालिकाको प्रथम नगरसभामा चालू आर्थिक वर्ष २०७४/०७५ का लागि कुल ४५ करोड ५१ लाख ३ हजार ३ सय ३५ रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । उनका अनुुसार चालु खर्च तर्फ १२ करोड ४६ लाख २५ हजार ७ सय १७ रुपैयाँ छुट्याइएको छ ।
जस अन्तर्गत सामाजिक सुरक्षा, स्थानीय शासन सामुदायिक बिकास कार्यक्रम र सिमा क्षेत्रको बिकासलाई समाहित गरिएको छ । पुजिगत खर्च तर्फ २३ करोड ३७ लाख ६ सय १८ रुपैयाँ तथा शसर्त अनुदान तर्फ ९ करोड ६७ लाख ७७ हजार गरी जम्मा ४५ करोड ५१ लाख ३ हजार ३ सय ३५ रुपैयाँ बराबरको बजेट अनुमान गरिएको छ । प्रथम नगरसभाबाट पुर्वाधार विकास निर्माण कार्य, बित्तिय व्यवस्थापन र सुशासन, सामाजिक बिकास, आर्थिक बिकास, वातावरण खानेपानी तथा सरसफाइ, सिचाइ, स्वास्थ्य, शिक्षा, कृषि, यातायात, संस्थागत बिकास तथा सेवा प्रवाह लगायतका कार्यक्रम शीर्षकको लागि बजेट विनियोजित गरिएको छ ।
सदरमुकामस्थित खेलकुद मैदान कबर्ड हलमा शुक्रबार सम्पन्न प्रथम नगरसभाको उद्घाटन गर्दै पूर्व मन्त्री एवं राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सर्लाही निर्वाचन क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादवले भने, 'नगरपालिकाको बिकास गर्दा साझा समस्या सम्झेर काम गर्ने मात्र नभई त्यस अभियानमा सवैले सहयोग गर्नुपर्छ । नगरभित्र जसले जहाँ विकास गरे पनि नगरबासीलाई फाईदा हुने काम गर्नुपर्दछ ।' उनले नगरपालिकाका सबै वडामा समानुपातिक रुपमा विकास गरेर अगाडी बढ्न र कुनै पनि राजनीतिक दलका आधारमा नभई साझा नगरबासीको भावनालाई कदर गर्दै बिकास निर्माण अभियानमा लाग्न समेत जनप्रतिनिधिहरुलाई आग्रह गरे । मलङ्ग्वा नगरपालिकालाई ‘स्मार्ट सिटी’ को अवधारणामा विकास गर्न प्रक्रियागत रूपमै अगाडि बढ्ने प्रतिबद्धता जनाए । नगरपालिकाले प्रथम नगरसभाको अवसरमा सम्मान कार्यक्रम समेत राखिएको थियो ।
सम्मान कार्यक्रममा सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रका निर्वाचित प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वाल, एसपी त्रय मसउद आलम खाँ, रबिन्द्र ठाकुर र लिलाधर पौडेल, नेपाली सेनाका मेजर शिवप्रसाद लिगल, कबिलासी नपाका मेयर कौशलकिशोर राय, जिल्ला समन्वय समितिका अध्यक्ष मेथुर चौधरी, जिल्ला समन्वय समितिका अधिकृत राजकिशोर महतो, शिक्षक संघका अध्यक्ष कौशलराय यादव, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष विश्वनाथ ठाकुर, राजपाका रामविश्वास ठाकुरलगायत नगरका सबै वडा अध्यक्ष तथा सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
नगर प्रमुख निरसल साहको अध्यक्षता तथा पूर्वमन्त्री एवं राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य तथा सर्लाही निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य महेन्द्र राय यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर उपप्रमुख शान्ति मिकरानी, नगरका १२ वटै वडाका अध्यक्ष तथा सदस्यहरु, नगरका कार्यकारी अधिकृत होमनाथ सुवेदी, प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कट्वाल, एसपी त्रय मसउद आलम खाँ, रबिन्द्र ठाकुर र लिलाधर पौडेल, नेपाली सेनाका मेजर शिव प्रसाद लिगल, जिल्ला समन्वय समितिका अध्यक्ष मेथुर चौधरी, जिल्ला समन्वय समितिका अधिकृत राजकिशोर महतो, शिक्षक संघका अध्यक्ष कौशलराय यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधीहरु, संघसंस्थाका प्रतिनिधीहरु, अवकाश प्राप्त शिक्षकहरु, नागरिक समाजका अगुवा, मानव अधिकारवादी, बुद्धिजीवि, विद्यार्थी, पत्रकार र आम जनसमुदाय समेतको उपस्थिती थियो । उक्त कार्यक्रमको उद्घोषण नगरका सामुदायिक बिकास शाखाका नायब सुब्बा राजकुमार अधिकारीले गरेका थिए ।
प्रतिक्रिया