
अम्बे सिमेन्टकोे लुट, ५ सयप्रति बोरा पर्ने सिमेन्टलाई ९ सयमा विक्री
काठमाडौं । नेपालको प्रतिष्ठित औद्योगिक घराना अम्बे स्टिल प्रालिले नेपालमा उपलब्ध क्रेन, एक्जावेटरलगायका हेभी इक्विपमेन्टको भाडा महंगो भएको भन्दै भारतबाट मगाउन थालेको छ । एक प्रतिष्ठित औद्योगिक घरानाले थालेको उक्त कदमबाट हेभी इक्विपमेन्ट व्यवसायीमा लागेका ब्यवसायीको रोजीरोटी खोसिनेप्रति सचेत हुँदै हेभी इक्विपमेन्ट व्यवसायी महासंघले भने विरोध जनाएको छ ।
महासंघका अध्यक्ष ताराबहादुर कुँवरले उक्त कम्पनीले भारतबाट दक्ष जनशक्ति र इक्विपमेन्ट ल्याउन दिएको निवेदन सार्वजनिक गर्दै विरोध गरेका हुन् । अम्बे स्टिलले दिएको निवेदनमा नेपालमा उपलब्ध हेभी इक्विपमेन्ट महंगो भएको भन्दै एक महिनाको लागि भारतबाट हेभी इक्विपमेन्ट र जनशक्ति भाडामा भित्र्याउन अनुमति मागिएकोे छ ।
सिन्डिकेट लगाएर लुटः
इक्विपमेन्ट र जनशक्ति चाहिँ सस्तोमा बाहिरबाट आयत गर्ने तर आफुले उत्पादन गरेको सिमेन्ट विकाउन सिमेन्टका लागि मुलुक अब आत्मनिर्भर भयो भन्दै सिन्डिकेट लगाएर ९ सयमा विक्री गर्ने ? जबकि उक्त सिमेन्ट भारतबाट आयात गर्दा ढुवानी खर्चसहित प्रतिबोरा ५ सयमा पाउन सकिने महासंघका अध्यक्ष कुँवरको दावी छ । उनले भने, 'अब तपाई आफै भन्नुस् मुलुक सिमेन्टमा कसरी आत्मनिर्भर भयो ? भारतबाट आयात गर्दा ढुवानी मुल्यसहित प्रतिबोरा ५ सय रुपैयाँमा पाउने सिमेन्टलाई औद्योगिक घराना अम्बे समूहले ९ सयमा बेचेर खुलेआम लुट मच्चाइरहेको छ ।'
यसरी लुट मच्चाइरहेको अम्बे स्टिल प्रालिले जति चाहे पनि नेपालमै हेभी इक्विपमेन्ट हुँदाहुँदै विदेशबाट भाडामा ल्याउँदा नेपाली ब्यवसायी मर्कामा पर्ने उनले बताए । उनले यो ब्यवसायमा लागेका सयौं व्यापारीको रोजीरोटी खोसिने भन्दै उक्त कदम तत्काल रोक्न अम्बे स्टिललाई चेतावनी समेत दिए । उनले भने, 'त्यसैगरी सवैले विदेशबाट उपकरण र जनशक्ति ल्याउने हो भने हाम्रो लगानी र ब्यवसायी कसरी सञ्चालन हुन्छ ? त्यो त हामीलाई अन्याय भयो नि ।' सो विषयमा अम्बे स्टिल प्रालिलाई सम्पर्क गर्दा अनभिज्ञता प्रकट गर्यो ।
प्रतिक्रिया