
कीर्ते काण्डमा सिमेन्ट उद्योगलाई छानबिनको सट्टा उत्खनननको अनुमति
काठमाडौं । कीर्ते कागजातका आधारमा खानी तथा भूगर्भ विभाग लैनचौरले चुनढुंगा उत्खननन लाईसेन्स दिएको खुलासा भएको छ । ललितपुर माल्टा गाउँपालिका–१ मा रहेको चुनढुंगा उत्खनन् गर्ने कीर्ते कागजातलाई चेकजाँच नगरी विभागका कर्माचारीको मिलोमतोमा उत्खनननको लाईसेन्स दिइएको हो । स्रोतका अनुसार विभागका महानिर्देशक राजेन्द्रप्रशाद खनालको मिलोमतोमा उक्त लाईसेन्स र नामसारी गरिएको छ ।
काशिनाथ उपाध्यायको नाउँमा दर्ता कायम रहेको कित्ता नम्बर ४५ को १० रोपनी ६ अना २ पैसा र कित्ता नम्बर ४६ को ५ रोपनी १५ अना २ पैसा जग्गाको किर्ते मन्जुरीनामा बनाई उत्खननको लाईसेन्स बनाईएको प्रमाण भेटिएको हो । भारतीय गिरोह अनिल गुप्ता, अर्चित गुप्ता र सेन्चुरी सिमेन्टको योजनामा कीर्ते कागजात तयार पारी खानी उत्खननको लाईसेन्स उक्त समुहले हात पारेको हो ।
सेन्चुरी सिमेन्ट अहिले बजारमा चलेको शिवम् सिमेन्टकै सञ्चालकहरूले दर्ता गरेको कम्पनी हो । यसको उत्पादन भने सुरू भएको छैन । उत्पादन सुरू गर्न यो कम्पनीले जाली कागजात तयार पारेर चुनढुंगा उत्खननको लाईसेन्स गत ९ माघमा हात पारेका हुन् । गुप्ताद्वयले उपाध्यायको नाउँमा दर्ता कायम रहेको उक्त परिमाणको जग्गाको मन्जुरीनामा बनाई उत्खननको लाईसेन्स लिएका थिए । अहिले त्यहि लाईसेन्स सेन्चुरी सिमेन्ट कम्पनीमा नामासारी छ । तत्कालिन समयमा जग्गा धनी रहेका उपाध्यायले आफ्नो कीर्ते मन्जुरीनामा तयार पारी सिमेन्ट उद्योगले उत्खननको लाईसेन्स लिएको भन्दै खानी तथा भूगर्भ विभाग लैनचौरमा उजुरी दिएपछि गुप्ताद्वय र शिवम् सिमेन्टको चरित्र उदांगिएको थियो ।
केही दिन अगाडी गुप्ताद्वयको नाम लिँदै केही अज्ञात व्यक्ति यो जग्गामा चुनढुंगा उत्खनन् गर्न पुगेपछि उपाध्यायले आफूले कुनै मन्जुरीनामा नदिएको भन्दै विभागमा उजुरी दर्ता गराएका थिए । तर उजुरी छानविनको सट्टा विभागले उल्टै कीर्तेका मतियारलाई तत्काल खानी उत्खनन् गर्न आदेश दिएको थियो । उजुरी गरेको भोलीपल्टैबाट उत्खनन् सुरू भएको छ । भारतीय गिरोहले नक्कली मन्जुरीनामा बनाएर चुनढुंगा उत्खनन् गर्ने लाईसेन्स हात पारेको दाबी गर्दै उपाध्यायले कीर्ते काण्ड र हचुवाको भरमा चुनढुंगा उत्खनन्को लाईसेन्स दिलाउन कर्माचारीको समेत हात रहेको दाबी गर्दै कर्माचारीमाथि पनि अनुसन्धान गर्नु पर्ने माग राख्दै विभागमा उजुरी दिएका छन् । तर एक साता बितिसक्दा पनि उक्त उजुरीको कुनै सुनुवाई भने भएको छैन् ।
प्रतिक्रिया