
मुद्रा अपचलनपछि नक्कली प्रमाणपत्र काण्डमा मुछिए अध्यक्ष संघाई
काठमाडौं । सबैभन्दा बढि बोनस बाँड्दै आएको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका नयाँ अध्यक्ष गोविन्दलाल संघाईमाथि एकपछि अर्को समस्या थपिएको छ । करोडौं विदेशी मुद्रा अपचलनमा मुछिएका उनी अहिले भने नक्कली शैक्षिक प्रमाणपत्र काण्डमा फसेका हुन् । नेपाल लाईफको अध्यक्ष बनेपछि संघाइको नक्कली प्रमाणपत्रका बारेमा नयाँ खुलासा भएको हो । संघाईको शैक्षिक योग्यताको सम्बन्धमा विमा समिति र नेपाल प्रहरीको केन्दीय अनुसन्धान ब्यूरो (सीआईवी) मा उजुरी परेको छ । उनले आईए र बीएको शैक्षिक प्रमाणपत्र भारतबाट किनेर ल्याएको भन्दै उजुरी परेको हो । उनले अध्यक्ष पद हत्याउनकै लागि नक्कली प्रमाणपत्र ल्याएको स्रोतको दावी छ ।
नेपाल लाईफ इन्स्योरेन्समा त्रिवेणी गु्रपका पुरुषोत्तमलाल संघाई, सुवासचन्द संघाई, विरेन्द्रलाल संघाई र रामचन्द संघाईको महत्वपूर्ण हिस्सा रहेको छ । यहि समूहले विगतदेखि नै सिद्धार्थ ग्याँस उद्योग प्रालिको नामबाट बर्षौंदेखि राजश्व चुहावट तथा विदेशी मुद्रा अपचलन गर्दै आइरहेको छ । गोविन्दलालले ५० प्रतिशत लगानीकर्तालाई बाइपास गरेर सिद्धार्थ ग्याँस उद्योग कब्जा गरि बुलेट ढुवानीमा बढि भाडा तिरेर वर्षौंदेखि करोडौं राजश्व चुहावट गर्दै आइरहेका छन् । सिद्धार्थ ग्याँसमा सुभाष कुमार खेतान र रमेश अग्रवालको ५० प्रतिशत सेयर रहेको छ । तर, संघाईले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कम्पनी रजिस्ट्रार कार्यालय, उद्योग विभाग, आन्तरिक राजश्व विभागलगायतका निकायलाई प्रभावमा पारेर एकातिर खेतान र अग्रवाललाई कम्पनीको आर्थिक विवरण देखि व्यवस्थापनको कुनै जानकारी दिएका छैनन् भने अर्कोतिर ठूलो मात्रामा राजश्व छली गर्दै आएका छन् ।
त्रिवेणी समूह अन्तर्गतको संघाई गु्रपले चलाएको उक्त ग्याँस उद्योगले ग्याँस ढुवानीमा अनियमितता गरेको, कम्पनीको हिसाबमा नयाँ सिलिण्डर खरिदमा खर्च देखाएको तर मापदण्ड नाघिसकेको र ग्याँस फिीलङ्ग गर्न नमिल्ने पुराना सिलिण्डरलाई टालटुल गरी रंगरोगन लगाई ग्यास भर्ने गरेकोे, हाईड्रोलिक यन्त्र विना नै उद्योग चलाई रहेको, ग्यासको सिलीण्डरमा रहेको लेदो फोहर नहटाई पुनः रिफीलिङ्ग गर्ने गरी ग्याँसको तौलमा ठगी गरेको, सिलीण्डरको तौलमा एक रुपता कायम नगरेको लगायतका उपभोक्ताको हित प्रतिकुलका बिभिन्न अनियमितता कार्यहरु गर्दै आइरको छ ।
सिद्धार्थ ग्याँसले नेपाल आयल निगमबाट पिओडी सुविधा लिई भारतको बैरोनी र हल्दीमा भन्ने ठाउँबाट भारतीय बुलेट ट्याङ्करका मालिकसँग सम्झौता गरी प्रति टनको दररेट कायम गरी ग्यास झिकाउने काम गर्दै आइरहेको छ । यसै क्रममा भारतको शक्ति रोडवेज ट्रान्सपोर्ट दिल्लीसँग सन् २०१२-१०-०३ मा बैरोनीबाट प्रतिटन भारु दुई हजार अठ सय र हल्दियाबाट प्रतिटन भारु पाँच हजार सात सय १५ मा सिद्धार्थ ग्यास उद्योसम्म पु¥याउने सम्झौता भयो । संघाईले उक्त सम्झौता विपरित भारु दुई हजार अठ सयको ठाउँमा भारु तीन हजार छ सय प्रति टन दर ड्राप्mट बनाई र सोही अनुरुप भारतको हल्दियाबाट भाडा कायम भएको भारु पाँच हजार सात सय १५ को सट्टामा छ हजार छ सय ८० को प्रति टनको हिसावले ड्राफ्ट बनाई शक्ति रोडवेजलाई पठाउने र करार भन्दा बढि भएको रकम शक्ति रोडवेजसँग भारतमा लिने गरेको प्रमाण समेत बाहिर आएको छ । सोही विषयमा छानविन गरी कारबाही गर्न खेतान र अग्रवालले माग गरेका थिए । तर, अहिलेसम्म संघाईमाथि कुनै पनि निकायले कारबाही गर्न सकेका छैनन् । जसका कारण उनलाई विदेशी मुद्रा अपचलन गर्न र राजश्व छली गर्न सहज भइरहेको छ ।
सिद्धार्थ ग्याँस उद्योगले पिओडी करारको ग्यास आयात गर्न नौ सय टनको सुविधा पाएको र प्रतिटन करिव एक हजार भारुको राजश्व छली र भारतीय रुपैयाँको अपचलन भएकोमा एक वर्षमा एक करोड आठ लाख छली र अपचल भएको देखिन्छ । हालसम्म (७ वर्षमा) करिव ८ करोड भन्दा बढि राजश्व छली र अपचलन भएको प्रमाणित भइसक्दा पनि संघाई समूहलाई राजश्वले कुनै पनि कारबाही गर्न सकेको छैन । यसरी ग्यास कम्पनीको नाममा करोडौं राजश्व छली गर्ने व्यक्ति अहिले नेपाल लाईफ इन्स्योरेन्स जस्तो अर्वौैं पूँजी रहेको कम्पनीको अध्यक्ष बनेपछि उनले विभिन्न वहानामा थप विदेशी मुद्रा अपचलन गर्ने निश्चित रहेको छ । विमाको नाममा उठाएको पैसामाथि उनले दुरुपयोग गर्ने खतरा रहेको नेपाल लाईफ इन्स्योरेन्सकै केही कर्मचारीहरु आरोप लगाउँछन् । यूनाइटेड पोष्टबाट
प्रतिक्रिया