
किन पक्राउ गरिएन चुडामणि उप्रेती उर्फ 'द गोल्ड डन गोरे' लाई ?
चुडामणि उप्रेती उर्फ 'द गोल्ड डन गोरे' विरुद्ध ईन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरियो । गोरे रातारात प्रहरीको सर्वाधिक खोजी सूचीमा परे । ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या काण्डबाट विकसित घटनाक्रमले ३ जनाको मृत्यु भयो । उक्त काण्ड छानविन गर्न गृहमन्त्रालयका सहसचिव ईश्वरीप्रसाद पौडेलको नेतृत्वमा छानविन समिति बन्यो ।
समितिले आधा दर्जन बढि प्रहरीलाई हिसासतमा लिने आदेश दियो भने अहिलेसम्म करिब तीन दर्जन सो काण्डसँग जोडिएर पक्राउ परिसकेका छन् । यसैबीच, प्रहरीले ६३ जना विरुद्ध संगठित अपराध तथा कर्तव्य ज्यान मुद्दा दायर पनि मोरङ जिल्ला अदालतमा दायर गरिसकेको छ । तर मुख्य सुन तस्करीका नाईके मानिएका गोरे भनि अझै फरार सूचीमा छन् । उनी अहिलेसम्म पक्राउ पर्न सकेको छैनन् ।
‘लहरो तान्दा पहरो गर्जिन्छ’ भन्ने उखान झै सो काण्डमा पूर्वआईजीपी उपेन्द्रकान्त अर्याल र प्रकाश अर्याललगायतका हाईफ्रोफाइल ब्यक्तिहरु नै मुछिएका छन् । कतिपय त उक्त काण्डमा नाम जाडिएकै कारण पक्राउ पर्ने डरले नेपाल छाडिसके । तर पनि नेपाल प्रहरीको संगठन प्रमुख बनेर आएका सर्वेन्द्र खनाल मातहतको विशेष ब्यूरो ( आईबी ), केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखा जस्ता निकाय के गरिरहेका छन् ? लामो समय बितिसक्दा पनि किन गोरेलाई पक्राउ गर्न सकिएन ? आँखिर उनी पक्राउ पर्न नसक्नु पछाडिको रहस्य के हो ? भन्दै अनगिन्ती प्रश्न उब्जिन थालेका छन् ।
उता पूर्व आईजीपी उपेन्द्रकान्त अर्यालको पालादेखि हुर्किएको सुन तस्करी प्रकाश अर्यालको पालामा आइपुग्दा एकदमै मौलायो । खनाल आईजीपी बन्नै लाग्दा तस्करहरुले मुलुक चलाइरहेको प्रमाणसहित तस्करी काण्ड छताछुल्ल भयो । सुन तस्करहरुको अवैध कामलाई साथ दिनेमा प्रहरी पनि देखिए । आईजीपी अर्यालद्धयले सुन तस्करीलाई यथावत राख्नकै निम्ति पूर्व डीआईजी गोविन्द निरौलालाई पटक–पटक बचाउँदै आएका थिए । किनकी अहिले ३३ केजी सुन काण्डमा मुछिएका निरौला यसअघि विमानस्थलबाट बरामद गरिएको ३४ केजी सुनकाण्डमा पनि मुछिएका थिए ।
आईजीपी उपेन्द्रकान्तकै आदेशमा सुन तस्करीमा मुछिएका अर्का नामुद भ्रष्ट एसएसपी श्याम खत्रीलाई समेत प्रहरी प्रधान कार्यालयमा हाजिर गर्न लगाएपछि त सुन तस्करीको प्रमुख योजनाकार नै अर्याल भएको पुष्टि भएको थियो । जबकि एसएसपी खत्रीमाथि लागेको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधिन अवस्थामा छ । अदालतमा मुद्दा चलिरहेका ब्यक्तिलाई सफाई नै नभई हाजिर गराउनु गैरकानुनी मानिन्छ । जिल्ला अदालत काठमाडौंबाट एक लाख धरौंटमिा छाडिएका खत्रीलाई उच्च अदालत पाटनले साधारण तारेखमा छाडेको थियो । अहिले उनीमाथि फरार प्रतिवादी भन्दै मुद्दा दायर गरिएको छ । स्रोतका अनुसार उनलाई अदालतमै सरण्डर गराउने तयारी अनुरुप पक्राउ नगरिएको हो ।
महानिरीक्षक खनालको अग्निपरिक्षाः
३३ केजी सुन तस्करी र हत्या काण्ड प्रहरी महाननिरीक्षक सर्वेन्द्र खनालको लागि अग्नि परिक्षा हो । उनले यो काण्डलाई अनुसन्धान गरेर फरार अभियुक्तसम्म पुग्न सक्छन् कि सक्दैनन् ? घटनामा संलग्नहरुमाथि कडा भन्दा कडा कारवाही हुन्छ कि हुन्न ? अनुसन्धानमा उनले देखाउने भूमिका महत्वपूर्ण सावित हुनेछ ।
एसपी र एसएसपी हुँदा जति नै राम्रो काम गरेता पनि सुन तस्करी र हत्या प्रकरणलाई उनले उजागर गर्न नसके उनीप्रतिको जनभरोसा निश्चित रुपमा कम हुनेछ । त्यतिमात्र नभई सुन तस्करीलाई जरैबाट हटाउन उनले प्रयास गर्नुपर्ने देखिन्छ ।
नत्र 'डी कम्पनी' सँग सम्वन्ध गाँसेर त्यो बेलादेखि सुन तस्करी गर्दै आएका लोकमानसिंह कार्कीदेखि दीपक मल्होत्रासम्मले उन्मुक्ति पाउनेछन् । यो काण्डलाई आईजीपी खनालले सहि अनुसन्धान गरी अन्त्य गर्न नसके उनीमथि पनि औला उठ्न संभावना त्यतिकै छ ।
प्रतिक्रिया