
'सरकार राष्ट्रिय स्वार्थ र अखण्डताप्रति गम्भिर भएन'
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चीन र भारतको सीमा विवादको कुरा जसरी आएका छन्, त्यसमा सरकारकै कमजोरी मुख्य कारण भएको सुनाए ।
महतले भने,‘जहाँसम्म हाम्रा छिमेकी देशहरुसँगको सम्बन्धको विषय छ, यो अत्यन्तै संवेदनशील र महत्वपूर्ण छ । हामीले आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रविन्दुमा राखेर परराष्ट्र नीति सञ्चालन गर्नुपर्छ । तर, वर्तमान सरकारले गर्न नसकेको कुरा घामजस्तै छर्लङ छ । उहाँहरु कामभन्दा बढी कुरा गर्नुहुन्छ । जहाँ कुरा राख्नुपर्ने हो, त्यहाँ राख्नुहुन्न । बाहिर चाहीँ त्यसबारेमा बढाईचढाँई गर्नुहुन्छ । त्यसले गर्दा यो सम्बन्धहरुमा अहिले जटिलता थपिएका छन् ।’
उनले कालापानी, महाकालीको विषय पूरानो भएको सुनाए । उनले भने,‘नेपाली कांग्रेसको सरकार हुँदा, सुशील कोइरालाजीले पनि र शेरबहादुर देउवाजीले पनि जहाँनिर यो विषय उठाउनुपर्ने थियो, यो उठाउनु भएकै हो । म परराष्ट्रमन्त्री हुँदा हामीले द्धिपक्षीय सीमा संयन्त्र बनायौं, यसले चाँडोभन्दा चाँडो सीमा विवादको समस्या हल गर्ने कुरा टुँगो लगाउने सहमति भएको हो । त्योअनुसार यो संयन्त्रले काम पनि अघि बढाएको हो ।’
महतले वर्तमान सरकार बहुमतको सरकार रहेको बताउँदै सत्तामा नहुँदा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरुले राष्ट्रियता ‘हाम्रै काँधमा उभिएको छ’ झैं गरि कुरा गरेको टिप्पणी गरे । उनले भने,‘तर, सत्तामा आएपछि उहाँहरुले यी विषय उठाएको हामीले पाएका छैनौं । सत्तामा आएपछि द्धिपक्षीय पटक-पटक बैठकहरु भए, भेटवार्ता भए, कहीँकतै यी विषय उठाएको हामीले पाएनौं । यो सरकार हाम्रो राष्ट्रिय स्वार्थ र अखण्डताप्रति गम्भिर नभएको स्पष्टनै छ ।’
उनले नेपालको जमिन चीनले पनि अतिक्रमण गरेको भन्ने कुरा पत्रपत्रिकामा आएको उल्लेख गर्दै भने,‘चिनियाँ सरकारको जहाँसम्म सवाल छ, अहिले पत्रपत्रिकामा धेरै ठाउँमा अतिक्रमण भयो भन्ने छ । भारतसँगपनि यो महाकाली लिपुलेकको सम्बन्धमा चाँडोभन्दा चाँडो कुटनीतिक तहमा उच्चस्तरीय वार्तामार्फत तथ्य, तथ्यांक र आधारसहित नेपाल सरकार प्रस्तुत हुनुपर्छ । सशक्त सन्देश जान्छ ।’
प्रतिक्रिया