
प्रचण्ड-ओली शक्ति संघर्ष: 'ओलीको जालझेल, प्रचण्ड जहिल्यै फेल'
काठमाडौं । गएको महिना नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सचिवालय सदस्य ईश्वर पोखरेलको घरमा लन्चका लागि पुगेका थिए । त्यो लन्च मात्र थिएन, विचारका हिसाबले नै मतभेद रहेका नेताको भेटले नेकपाभित्रको शक्ति सन्तुलनमा कसरी अघि बढ्ने भन्ने सल्लाह पनि थियो । त्यसअघि नेकपा सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउनेगरी सहमति बनेको थियो । त्यो कतिपयलाई चित्त बुझेको थिएन ।
प्रचण्डका लागि पनि चित्त बुझ्दो कुरो भएन, बामदेव उपाध्यक्ष भए आफूलाई बरिष्ठ नेता सरह राखेर अध्यक्ष तथा प्रधानमन्त्री ओलीले कार्यबाहक नेता खोजेको अनुभूती पनि भइसकेको थियो । नेकपामा आफ्नो शक्ति संचय र उदय गराउनका निम्ति प्रचण्डले पोखरेलसँग केही विषयमा सहमति गरेका छन् । प्रचण्ड र ओलीको समीकरण मिलाउने चाबी पनि पोखरेल बनेकै कारणले त्यसपछि गौतमलाई उपाध्यक्ष बनाउने विषय हालसम्म सचिवालय वैठकमा प्रवेश पाएको छैन ।
त्यसो त ओलीलाई भेटेर आफूलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउनका लागि बामदेवले ठाडो प्रस्ताव राखेका थिए । त्यसो होइन भने नेकपाको शक्तिशाली पदमा बहाल गराउन भूमिका खेल्न बामदेवको प्रस्तावका पछाडिको तर्क थियो, तत्कालिन एमालेमा अध्यक्ष बनाउन गरेको सहयोग । ‘चुनावमा पराजित भएको र पार्टी एकीकरणमा राम्रो वरियता पनि नभएपछि उहाँले केही न केही चाहियो भन्नु भएको छ । कसरी मिलाउने भन्ने कुराकानी चलिरहेको छ’, स्रोतले भन्यो ।
नेकपा एकीकरणका बेला प्रचण्डलाई सहयोग गरेका बामदेवले गत वर्ष सचिवालय बैठकमा अध्यक्षको कार्यकारी अधिकार हस्तान्तरण गर्न लिखित प्रस्ताव नै गरेका थिए । त्यतिमात्र होइन ओलीको चर्को आलोचना गर्दै अध्यक्षको पुरै जिम्मेवारी प्रचण्डलाई दिनुपर्ने माग पनि गरेका थिए । त्यसको एक बर्षपछि ओलीसँग मिलेर प्रचण्डलाई कार्यकारी अधिकार दिन हुन्न भनेपछि बामदेवलाई अहिले माइनस गरिएको स्रोतको दाबी छ ।
खासगरी बामदेवलाई भाइटल रोलमा ल्याउनासाथ ओलीको निकटस्थ मानिने, सहयोग गरिरहेका नेता पोखरेलको राजनीतिक शक्ति उदयमा बिलम्ब हुने देखिन्छ । यसैले पनि प्रचण्डले लन्च मिटिङमा अबको नेकपामा अचम्मको समीकरण बनाएर अघि बढ्नु उपयुक्त हुने सुझाव दिएका थिए । आफू पार्टीको अध्यक्षमा आए, महासचिव वा अन्य कुनै पदीय जिम्मेवारीसहित नयाँ समीकरण स्थापित गर्न सजिलो हुने सुझाव पोखरेललाई प्रचण्डको थियो ।
त्यसो त हालैका दिनमा प्रधानमन्त्री तथा अध्यक्ष ओली र प्रचण्डको सम्बन्ध यति घनिष्ठ छ कि अनेक प्रकारका नियुक्तिमा झलनाथ खनाल, माधवकुमार नेपाल, गौतमसहितका नेताका सिफारिस चल्दैनन् । यहि मेल देखेर आफू कमजोर भएको महसुश गरेका नेता नेपालले ओलीलाई भेटी गुनासो गरेका थिए । उनका कुरा नमानेपछि नेपालले ओलीमा एटिच्युडको समस्या रहेको भन्दै गुनासो सुनाउँदै हिँडेका थिए । प्रचण्डसँग विभिन्न चरणमा वार्ता गर्ने र ओलीलाई समीकरणमा कमजोर बनाउनका निम्ति प्रस्ताव लैजाने नेपाल नै थिए ।
तर राजनीतिमा यस्तो सम्बन्ध स्थापित भयो कि, ओलीसँगको सम्बन्ध बलियो नबनाई नेकपाको बलियो संगठनमा प्रचण्ड हावी हुन नसक्ने भए । त्यसैले उनले पूर्वएमालेकै संस्थापन र प्रतिपक्ष दुवैलाई साथमा लिएर शक्ति संचय गरिरहेका छन् । त्यसैको उपजमा पोखरेलसँगको अहिलेको घनिष्ठता अझ बलियो रहेको स्रोतले बतायो । ओली र प्रचण्डको सहकार्यमा पोखरेलसहित दोस्रो तहका नेता विष्णु पौडेल, शंकर पोखरेललगायतको जोडबल रहेको छ । पार्टी हाँकीसकेका र भागमात्र खोज्नेलाई भन्दा संगठनमा पकड भएकालाई प्रचण्डले साथमा लिन थालेका छन् ।
यहि क्रममा सुरेन्द्र पाण्डे, योगेश भट्टराईहरू पनि प्रचण्ड कार्यकारी अध्यक्षमा आउनुपर्छ भन्ने मान्यतामा पहिलादेखि नै उभिएका थिए । पार्टी वा सरकारको तेश्रो वा दोश्रो वरियतामा राख्ना साथ एकलाई साथ लिएर अर्कोलाई कमजोर पार्ने राजनीतिक खेलमा पहिलेदेखि नै खम्पिस मानिएका गौतमको भूमिकाप्रति प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पनि शसंकित छन । त्यसैले ओलीले बामदेवको असहयोगको मोर्चाबन्दी गर्ने र गुनासा र अन्तरविरोध नेतावीच बढाउने भएपछि उनलाई पार्टीको संगठन विभाग र किसान संघ जस्तो जनवर्गिय संगठनको नेतृत्व दिएका छन् ।
शक्ति आर्जनसँगै महत्वकांक्षा बढ्न सक्ने आशंका र त्रासका कारण अध्यक्षद्वय ओली र प्रचण्डले बामदेवलाई साइजमा ल्याउन उपाध्यक्ष बन्नको लागि अनौपचारिक प्रस्ताव फालेर आफ्नो समूह संस्थापन पक्षबाट बामदेव वाहिर नजाउन भनने मनसाय देखिन्छ । बामदेवलाई आकर्षक जिम्मेवारीको आश्वासन दिएर अध्यक्ष प्रचण्डले समेत ओलीको इसारामा इश्वर पोखरेललाई तत्काल आफूपछिको नेताको रुपमा तत्कालिन नेकपा एमालेबाट अघि सार्ने योजना बनाएका छन् ।
ओलीले खासमा महत्वपूर्ण जिम्मेवारी पाँच नम्वर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेललाई केन्द्रको कुनै न कुनै भूमिकामा ल्याउने योजना बनाएका छन् । त्यसका लागि इश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्री दिएमा शंकर पोखरेललाई भने पार्टीको महासचिव बनाइने रणनीति अध्यक्षद्वयले अघि सारेका छन् । शंकर र प्रदीप ज्ञवली ओलीका सबैभन्दा नजिकका राजनीतिक सहकर्मी हुन् ।
शंकरलाई मुख्य मन्त्रीबाट राजिनामा गराउएर आगामी फागुनमा राष्ट्रिय सभाको सदस्य बनाएर संघीय सरकारमा ल्याउने, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त गर्ने वा पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने भन्ने विषयमा दुई अध्यक्षबीच घनिभूत छलफल भएको छ ।
प्रतिक्रिया