
तनाबको बेला पटक-पटक किन हाम्रो हात अनुहारमा पुग्छ ?
हाम्रो हात कस्तो परिस्थितिमा बढी जसो अनुहारमा पुग्छ ? ख्याल गर्नेहो भन्ने सजिलैसँग थाहा पाउन सकिन्छ । जस्तो चिन्तित वा निराश भएको बेला अनुहारमा हात राखेर झोक्राइरहेका हुन्छौं ।
डराएका बेला हत्त न पत्त हातले अनुहार छोप्छौं । रोएका बेला हात अनुहारमा नै पुगेको हुन्छ । रुँदा कि त अनुहार छोपिरहेका हुन्छौं कि आँखा मिचिरहेका हुन्छौं । लजाएको समयमा पनि अनयासै हाम्रो हात अनुहारमा पुगि सकेको हुन्छ ।
खुसीको वा दुःखद समचार सुन्दा हाम्रो हात मुख छोप्न पुगिसकेको हुन्छ ।
समस्याको समधान नभेटेर सोचिरहेको बेला हामी या त नाक कोट्याई रहेका हुन्छौं या त कान वा कपाल तानि रहेका हुन्छौं वा हाम्रो हातका औंलाहरु ओठमा पुगि सकेका हुन्छन् ।
कसैको पीडामा सहानुभूति देखाउँदा बा अरुको खुसीमा सामेल हुँदा पनि हाम्रो हात उसको गाला वा अनुहारमै पुग्ने गर्छ । अनुहार मनको ऐना हो । मनका भाबहरु जस्तो पिर, ब्यथा, बेदना, खुसी, उमंग अर्थात संबेगको अभिब्यक्ति हाम्रो अनुहारबाट नै भैरहेको हुन्छ ।
खुसी वा दुःखी हुँदा दुबै अबस्थामा तनाब बढ्छ ।
हात नचलाई हामी बस्नै सक्दैनौं । सामान्यतया कम्तिमा पनि एक घण्टामा २, ४ पटक अनुहारमा हात पुग्नुलाई आघारभुत मानवीय स्वभाब नै मानिन्छ । तर तनाबमा भएको बेला भने अरु सामान्य अबस्थामा भन्दा धेरै पटक हाम्रो हात अनुहारमा पुग्ने गर्छ ।
बिश्वभरि नै अहिले कोरोनाको संकट छ । यो अबस्थामा हामी सबैमा अलि अलि भए पनि डर चिन्ता र तनाब पक्कै बढेको हुनुपर्छ । यसलाई समान्य र स्बभाबिक नै मानिन्छ ।
कतिपयमा भने यो समस्या अलि बढी नै पनि हुन सक्छ । यस्तो विषम परिस्थितिमा डर, चिन्ता र तनाबको कारण शरीर र मन दुबै अशान्त हुने, छट्पटी बढने, अस्थिर हुने, उकुसमुकुस हुने हुन्छ ।
कोरोनाको प्रकोप बढेसँगै मनोसामाजिक एवं मानसिक स्वास्थ्य समस्याहरु पनि बढेर गएका छन् ।
चिन्ता तथा चिन्ताजन्य मानसिक समस्या जस्तो अब्सेसिभ कम्पल्सिभ डिसअडर्स, प्यानिक अट्याक, मानसिक आघात, डिप्रेसन, एक्युट स्टेस डिसअडर्स, तनाब तथा तनाब जन्य मनोबैज्ञानिक समस्याहरु यस्तो अबस्थामा अरु बेला भन्दा धेरै बढने गर्छन् ।
यस्ता मानसिक एवं मनोबैज्ञानिक समस्या देखिँदा शारीरिक लक्षणहरु पनि देखिन्छ । जस्तो टाउको दुख्ने, अनुहार रातो हुने, कान, शरीर तात्ने, पोल्ने, झमझमाउने, मुख सुक्ने, आँखा पोल्ने, फुर्फुराउने वा धमिलो देख्ने, श्वास फेर्न ग्राहो हुने, शरिरमा वा नाकमा बढी पसिना आउने, नाक सकसकाउने जस्ता लक्षणहरु देखिन्छन् ।
यस्ता लक्षणहरुले गर्दा पनि हामीलाई असहज भै हाम्रो हात नाक, मुख, आँखामा पुग्छ । हामी अनायसै अनुहार र शरीर सुम्सुम्याउन पुग्छौं । अझ कोरोना भाईरसको संक्रमण हुँदा देखिने मुख्य लक्षण ज्वरो आउने हुँदा यसको डरले धेरै सताएमा पटकपटक अनायसै वा जानी जानीकन पनि निधार छाम्न पुगिन्छ ।
कोरोना भाईरस हातको माध्यमबाट मुख, नाक र आँखा हुँदै शरिरिक भित्र प्रवेश गर्ने भएकाले हातको सरसफाइलाई विशेष ध्यान दिनुपर्छ। साथै हातले अनुहारमा छुने कार्य गर्नुहुदैन । यस्तो गरे संक्रमणको जोखिम बढ्छ ।
अहिले कोरोनाको संक्रमण बढ्नुमा मानिसको यस्तो कार्यले प्रभाव पारेको अनुमान गर्न सकिन्छ । तर तनाब बढेका बेला चाहेर पनि हामी हाम्रो हातलाई कन्टोलमा राख्न सकिरहेका हुदैनौं ।
किन यस्तो व्यवहार गर्छौ त हामी ?
आफ्नो अनुहार आफैंले सुम्सुम्याउने, नाक कोट्याउने, कान कोट्याउने, आँखा मिच्ने, औंलाले ओठ चलाउने, नङ टोक्नेलगायतका कार्यहरु नजानिँदो पाराले हामी गरिरहेका हुन्छौं ।
यसो गर्दा हामीलाई आनन्दको महसुस हुने, सन्तुष्टि मिल्ने एवं तनाव कम भएको महसुस हुनेगर्छ । हामीले आफैंलाई छोएर शरीर, अनुहार सुमसुम्याएर आफ्नो संवेग र ध्यानलाई नियन्त्रण गर्न खोजी रहेका हुन्छौं ।
यसले संवेगात्मक प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । साथै तनाबलाई कम गर्न वा तनाब ब्यबस्थापनमा मदत पुर्याई रहेको हुन्छ ।
मानविय स्वभावबारे अनुसन्धान गरेका वैज्ञानिक माइकल हल्स्वर्थले यस तथ्यलाई स्बिकार गर्दै मानिसहरुको यो व्यवहारलाई बदल्न निकै गाह्रो रहेको बताएका छन् । त्यसैले अहिलेको अबस्थामा मानिसलाई अनुहार नछुनू भन्नु भन्दा पनि हात धोइराख्नू भन्न सजिलो हुने उनको राय छ ।
कसरी कम गर्न सकिन्छ ?
तनाबको बेला हामीमा अस्थिरता बढने तथा हातहरु पनि अनुहारतिर धेरै जाने हुनाले तनाब ब्यबस्थापनमा जोड दिनुपर्छ । तनाब ब्यबस्थापनका बिभिन्न तरिका र बिधिहरु छन् ।
आफ्नो शारीरिक अबस्थाप्रति सचेत हुनुपर्छ । आफुले के गरि रहेको छु ख्याल गर्नुपर्छ ।
कतिपय अबस्थामा परिबारको सदस्यहरुको पनि सहयोग लिन सकिन्छ । अनयासै यस्तो व्यवहार गरेको देखेमा आफुलाई सुचित गर्न वा सम्झाउन आफन्तलाई भन्न सकिन्छ ।
आबस्यक परेको खण्डमा साइको थेरापी वा मनोपरामर्श सेबा पनि लिन सकिन्छ ।
(लेखकः ढकाल मनोविद हुन् । मार्क नेपाल मनो सेवा केन्द्रमा कार्यरत रहेका छन् ।)
प्रतिक्रिया