
'सरकार निर्वाचनको तयारीमा जुटिसक्यो, नेकपा फुटेकै छैन्'
काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले वर्तमान सरकार निर्वाचनको तयारीमा जुटिसकेकोले निर्धारित मितिमै चुनाव हुने विश्वास दिलाएका छन् ।
आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री ठगुन्नाले भने,‘अहिले देश जनताको ताजा जनादेश लिनको लागि अगाडि बढेको छ । हामी अहिले निर्वाचनको सम्मुखमा छौं । सरकारले निर्वाचन गर्ने कार्यक्रमहरुको लागि पर्याप्त तयारीहरुको थालनी गरेको छ । त्यहीअनुसारको तयारी र कार्यक्रमहरु अघि बढाएको छ । निर्वाचन अयोगले पनि निर्वाचनसम्बन्धी कामकारबाहीहरू अगाडि बढाएको छ ।’
उनले सरकार बन्नुअघि र बनेपछिको अवस्थाबारे यसरी सम्झिए-‘निश्चित् रुपमा जब २०७४ सालको निर्वाचनमा हामी तत्कालिन् नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बीचमा चुनावी गठबन्धन, वाम गठबन्धनको आधारमा हामी जनताको बीचमा गएका थियौं । स्थायित्वको लागि मत मागेका थियौं । पाँच वर्षको लागि जनताबाट मत पनि प्राप्त भएको थियो । वाम गठबन्धनको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने म्याण्डेट जनताले दिएका थिए । सरकार बनेपछि जनताको म्याण्डेअनुसार यो सरकारले काम काम गर्दै आएको थियो । विकास र समृद्धिको अभियान अघि बढे । स्वास्थ्य क्षेत्रमा प्रत्येक पालिकास्तरमा स्वास्थ्य-सुविधा बढाउने काम भयो । प्रत्येक पालिका केन्द्रहरुमा कालोपत्रे सडक बनाउने कार्य अहिले जारी छ । चलिराखेको छ । भौतिक पूर्वाधारका थुपै कार्यक्रमहरु खानेपानी, विजुलीलगायत अभियानका कार्यक्रमहरु समावेशीकरण, उपेक्षित, अपांग, असहाय, एकल महिलादेखि वृद्धाहरुको सेवा सुविधाको बारेमा समेत यो सरकारले आफ्ना कार्यक्रमहरु अगाडि बढाउँदै लग्यो ।’
उनले अघि थपे,‘यत्तिमात्रै होईन, यहाँहरुलाई थाहा छ-लामो समयदेखि हाम्रो देशको जुन भूमि मिचिएको थियो । हामीले औपचारिक रुपमा राष्ट्रिय/अन्तर्राष्ट्रिय जगतमा दाबीसम्म गर्न पाएका थिएनौं । त्यसलाई औपचारिक रुपमै संसदमा प्रवेश गराएर संविधान संशोधन गरेर हामीले आफ्नो मिचिएको भूमि यो सरकारले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हाम्रो भूमि समावेश गरेर, हाम्रो नक्सा सार्वजनिक गरेर संविधान संशोधन गरेर हामीले एउटा भारतसँग द्धिपक्षीय छलफलमा मात्रै होईन, अन्तर्राष्ट्रिय जगतमा पनि हाम्रो भूमिको आधिकारिक दाबी हामीले गर्यौं । त्यसलाई प्राप्त गर्ने प्रक्रिया अघि बढायौं । भारतसँग हामीले प्रष्ट रुपमा प्रधानमन्त्रीको नेतृत्वमा मिचिएको भूमि फिर्ता लिने कार्यक्रम पनि अगाडि बढ्दै जाँदाखेरि सरकारका विरुद्धमा, सरकारलाई अस्थिर बनाउने षड्यन्त्र भयो ।’
संसद पूनःस्थापना हुने सम्भावना कत्तिको छ ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले त्यो सम्भावना नभएको दाबी गरे । उनले थपे–‘संसदमा सरकार बनाउने विकल्प नभएको हुँदा संविधानअनुसार संसद पूनःस्थापना हुन सकदैन् । जनताको म्याण्डेट नेकपालाई हो । नेकपाको नेतृत्व ओलीजीले गर्नुभएको छ। उहाँ बहुमतप्राप्त संसदीय दलको नेता हो । नेकपाले अन्यथा निर्णय नगरेकोले संसुद पूनःस्थापना हुँदैन् । संवैधानिक हिसाबले पनि निर्वाचनमा जाने कुरा उपयुक्त हो ।’ उनले नेकपामा कसले आधिकारिकता पाउँछ ? भनेर सोधिएको प्रश्नमा नेकपा नफुटेको पनि जिकिर गरे ।
उनले भने,‘नेकपा फुटेकै छैन् । नेकपा छँदैछ । दुई वटा भएको भए पो मान्यताप्राप्त कसले पाउँछ ? भन्ने कुरा आउँछ । नेकपाको नेतृत्व सम्माननीय प्रधानमन्त्री ओलीले गर्नुभएको छ । कुनै नेता तथा कार्यकर्ताले पार्टी छोड्छु भन्नु व्यक्तिगत कुरा हो । संस्थागत रुपमा नेकपा एकीककृत नै छैन् । आधिकारिक पनि त्यही कुरा हो ।’
प्रतिक्रिया